Thursday, June 22, 2017

राइझुमाको बिहे पछि चिनिएका गायक तथा संगीतकार रवि मल्ल!

पछिल्लो समय संगीतकारको रुपमा उदाउँदो नक्षत्रका रुपमा देखिरहेका गायक,संगीतकार तथा गीतकार रवि मल्लको जन्म मङ्सिर २८ गते तनहुँको नाब्रुङ गाउँमा भएको हो। बाबा मोहनराज मल्ल र अामा बिष्णुमाया मल्लका सुपुत्रका रुपमा जन्मिएका उनी विगत एक दशक देखि  सांगीतिक क्षेत्रमा सक्रिय छन्। गायक तथा संगीतकार रवि मल्लले अनुराग संगीत विद्यालयमा संगीतकारद्वय राम सिटौला तथा अर्जुन पोखरेलसंग गायन तथा संगीतको औपचारिक प्रशिक्षण लिएका छन् भने गुरु चण्डीप्रसाद काफ्लेसंग पनि उनले संगीतको प्रशिक्षण लिइसकेका छन् । पहिले मिस्टर एम्बिज ब्याण्डबाट समवन स्पेसल नामक गीत रेकर्ड गरेर सांगीतिक क्षेत्रमा पाईला टेकेका उनी राइझुमाको बिहे नामक पहिलो सोलो गीतबाट राम्रै चर्चामा अाए।उनले संगीतबद्ध गरेका तीन दर्जनभन्दा बढि गीतहरु विभिन्न गायक–गायिकाको स्वर रेकर्ड भैसकेको छ ।आफूले संगीतबद्ध गरेका अधिकांश गीतहरु मल्ल आफैं रचना समेत गर्छन् । इमेज अवार्ड, कालिका अवार्ड, एरेना अवार्ड जस्ता थुप्रै अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट नवगायकमा नोमिनेसनमा परेका उनले एरेना अवार्ड (सर्वोत्कृष्ट नवगायक) समेत पाएका थिए।

उनै गायक,संगीतकार तथा गीतकार रवि मल्लसंग हाम्रा चौदण्डीगढी.कम संवाददाताले लिएका छोटो कुराकनीको अंश जस्ताको त्यस्तै:

चौदण्डीगढी: नमस्कार रवि जि,यहाँलाई यस चौदण्डीगढी.कममा हार्दिक स्वागत छ।
रवि: धन्यवाद,अनि सम्पूर्ण पाठक र चौदण्डीगढी.कम परिवारमा मेरो पनि नमस्कार।

चौदण्डीगढी: लेखन, कम्पोजिसन र गायन तीनै विधामा सकृय हुनुहुन्छ,तपाईं गीतकार,संगीतकार र गायक मध्ये अाफूलाई के भनेर चिनिनु चाहहुनुहुन्छ?
रवि: म अाफू त गायक/संगीतकार भनेरै चिनिनु चाहन्छु तर यसो कहिले काहीँ लेख्ने पनि गर्छु।

चौदण्डीगढी: तपाईको संघर्षका दिनहरु कस्तो रह्यो अाजका दिनसम्म अाउँदा?
रवि: काठमान्डौं बाहिरको मान्छेलाई सामान्यतया गारै हुन्छ। अरुले गरेजस्तै संघर्ष मैले पनि गरेँ।

चौदण्डीगढी:संगीत प्रति अाफूलाई कहिले देखि रुचि भयो ?याद छ तपाईलाई?
रवि:म स्कुले जिवनबाटै संगीतमा रुचि राख्थें, सायद कक्षा ८ तिरबाट होला।पहिले चाहिँ म चित्रकला अनि साहित्यमा ज्यादा रुचि राख्थेँ पछि संगीत प्रति रुचि बढेर अायो।

चौदण्डीगढी: नेपाली संगीतमा एक दशक बिताउँदा कस्तो महशुस गर्नुहुन्छ?कतै अाफू जति अगाडि अाउनु पर्ने अाउनु सकेको छैन जस्तो लाग्दैन?
रवि: खुसी छु म , आफैंले चाहेको रुचिको काम गर्दैछु। यसमै बाँच्ने आधार बनेको छ।र अघि आउनुपर्ने सवालमा त्यस्तो अनुभव हुँदैन। सफल कलाकारहरुको ईतिहास हेर्दा पनि त्यस्तो लाग्दैन। मेरो केही वर्षको यात्रा हो। अझै लामो दौड बाँकी छ।

चौदण्डीगढी: तपाईं अाजकल शब्द र संगीतमै व्यस्त हुनुहुन्छ,यसै कारण गायनमा पछि पर्ने हो कि जस्तो महशुस हुन्न तपाईलाई?
रवि: त्यो पनि हो एक हिसाबले तर म छिटै एल्बमको तयारीमा छु। गाएर मात्र बाँच्न अलि गारै हुन्छ। गीत लेख्ने संगीत भर्ने कार्यले आर्थिक रुपमा सहयोग पनि गरेको छ।

चौदण्डीगढी: राइझुमा गीतले गायक रवि मल्ललाई स्थापित गरेको तपाईं स्विकार्नु हुन्छ?त्यो गीत कसरी तयार भयो?
रवि: केही हदसम्म सांगीतिक बृत्तमा परिचित गरायो यो गीतले मलाई। मलाइ केही फरक गर्नु मन थियो ।त्यतिबेला यसका गीतकार नरेन्द्र अाभाष जीसंग भेट भयो। यो गीत सुदुरपश्चिमको देउडाको रंगमा छ। मलाई अलि फरक लाग्यो। अनि मैले कम्पोज गरेर गाएँ।

चौदण्डीगढी: तपाईं अाफूलाई चाहिँ व्यक्तिगत रुपमा कस्ता गीतहरु मनपर्छ?
रवि: सबै खालको गीतहरु सुन्छु। तर मलाई मेलोडियस गीतहरु नै ज्यादा मन पर्छ।

चौदण्डीगढी: के नेपाली संगीतमा लागेर अब जिविकोपार्जन सम्भव छ?कस्तो लाग्छ तपाईलाई?
रवि: सपनाहरु ठूलो देख्नु हुँदैन। सामान्य जिन्दगी मजाले बाँच्न सकिन्छ जस्तो लाग्छ।

चौदण्डीगढी: तपाईका मनपर्ने गायक गायिकहरुको नाम लिनुपर्दा?
रवि: नारायण गोपाल, अरुण थापा, तारादेवी, शिव परियार, अन्जु पन्त, सुगम पोखेरेल, 1974 एडि, राजु परियार, बिमाकुमारी दुरा।

चौदण्डीगढी: संगीतकारहरु?
रवि: गोपाल योन्जन, राजु सिंह, न्ह्यु बज्राचार्य, प्रवीण बराइली, कल्याण सिंह, अर्जुन पोखरेल।

चौदण्डीगढी: गीतकारहरु?
रवि: दिनेश अधिकारी, किरण खरेल, एकनारायण भण्डारी।

चौदण्डीगढी: तपाईको विचारमा एउटा राम्रो गीत बन्नलाई मुख्य कुरा के चाहिन्छ ?
रवि: गीत राम्रो हुनमा प्रथमतः शब्द अनि संगीत त्यसपछी संगीत संयोजन अनि गायकीको हात हुन्छ मेरो विचारमा।

चौदण्डीगढी: तपाईं संगीतलाई कसरी परिभाषित गर्नुुहुन्छ?
रवि: सैद्धान्तिक परिभाषा भिन्न भएपनी मेरो विचारमा संगीत जीवनको आधारभुत आवश्यकता हो गाँस, बास, कपासजस्तै।

चौदण्डीगढी: अबको दस वर्षपछि रवि मल्ललाई कहाँ के गर्दै देख्न सकिन्छ होला?
रवि: सुखदुख जे जस्तो होस् ,संगीतमै हुनेछु।

चौदण्डीगढी: अन्त्यमा जाँदा जाँदै दर्शक श्रोतालाई केही भन्न चाहनुहुन्छ?

रवि: त्यहि हो यहाँहरुको साथ र माया बिना हामी अपुरो छौं,नेपाली संगीत अनि नेपाली कलाकारहरुलाई सधैं माया गरिदिनुहोला भन्न चाहन्छु।

No comments:

Post a Comment

उदयपुरको चौदण्डीगढी नगरपालिकाको चुनावी अन्तिम रुपरेखा!!!

चौदण्डीगढी/उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्थानीय निर्वाचन -२०७४ को नतिजा  सार्वजानिक भएको छ । दश वटा वडा रहेको यस नगरपालिकामा ...